सहकारी सेवा संस्कार रुपान्तरण तालिम’ सम्पन्न
धुलिखेल/काभ्रेपलाञ्चोकमा सहकारी संस्थामा कार्यरत कर्मचारीहरुको सेवा क्षमता तथा व्यवहारिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘सहकारी सेवा संस्कार रुपान्तरण तालिम’ सम्पन्नभएको छ ।
कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेपलाञ्चोकको आयोजनामा धुलिखेलमा सञ्चालित तालिममा जिल्लाका १५ वटा विभिन्न सहकारी संस्थाबाट अग्रभागमा रहेर सेवा प्रवाह गर्ने ५० जना कर्मचारीको सहभागिता रहेको थियो ।
क्लबका अध्यक्ष गोपाल दाहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (प्रोस्कून) का प्रमुख कार्यकारी अधिकृत केशव दाहालले प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो । तालिममा सेवाग्राहीसँगको व्यवहार, सेवा संस्कार, कर्मचारीको कार्यक्षमता, सकारात्मक सोच तथा संस्थागत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिइएको थियो ।
क्लबले आफ्नो छैटौँ स्थापना दिवसको अवसर पारेर शनिबार उक्त तालिम आयोजना गरेको हो । सहकारी संस्थाको सेवा प्रवाहमा कर्मचारीको व्यवहार र दक्षता महत्वपूर्ण हुने भएकाले सदस्य तथा सेवाग्राहीको विश्वास अभिवृद्धि गर्ने विषयलाई तालिममा विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।
२०७८ सालमा विधिवत् स्थापना भएको कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेपलाञ्चोकले सहकारी क्षेत्रमा कार्यरत कर्मचारीहरुको दक्षता अभिवृद्धि तथा मानव संसाधन विकासलाई प्राथमिकतामा राख्दै विभिन्न विषयमा नियमित तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
क्लबले आगामी दिनमा पनि सहकारी क्षेत्रमा कार्यरत जनशक्तिको व्यावसायिक क्षमता विकास, सेवा संस्कारमा सुधार तथा सहकारी संस्थाको संस्थागत विकासमा योगदान पुग्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।